जनैपूर्णिमा सकियो: अझ आएपुग्या छैनन् कतै कर्मचारी छैनन्, कतै सेवाग्राही

अनलाईन न्युजपाटी,भरतपुर समाचारदाता , साउन ३१।

जिल्ला प्रशासन कार्यालय चितवनमा बिहीबार दिउँसो १२:३० बजे पुग्दा नागरिकता प्रतिलिपि फाँटमा एक जनामात्र सेवाग्राही थिए । फाँटका कर्मचारीहरु भन्दै थिए– ‘अहिलेसम्म आएको भनेको जम्मा एक जना हो ।’बेलुकी ५ बजेसम्ममा भने ८ जना सेवाग्राही आएको कार्यालयले जनाएको छ । दैनिक औसत ५० जनाले नागरिकता प्रतिलिपि लिन आउने गरेकोमा बिहीबार जम्मा ८ जनामात्र भएको नासु हरि सिग्देलले बताए ।

निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सेवाग्राही निकै कम आएको बताए । १ बजेसम्मको अवधिमा जम्मा ११ जना नयाँ नागरिकता लिने सेवाग्राही आएको उनको भनाइ छ । ‘आज बिदा हुन्छ भन्ने मान्छेमा भ्रम रहेकाले कम सेवाग्राही भएको हुन सक्छ’, निमित्त प्रजिअ पन्तले भने, ‘अन्य दिन सयवटाजति नागरिकता जारी हुने गरेकोमा आज धेरै कम भयो ।’

दिउँसो १:३० बजे मालपोत कार्यालय भरतपुर पुग्दा अन्य दिन भीड हुने फाँटहरु खाली देखिए । जनैपूर्णिमाको बिदा नभएकोबारे जनतामा सूचना प्रभावकारी तरिकाले जान नसक्दा बिदा नै ठानेर नआएको कर्मचारी विष्णु अधिकारीले बताए । मोठ भिडाउने फाँट, राजस्व रसिद काट्ने ठाउँ, बैंकले राजस्व बुझ्ने ठाउँ सबै खाली थिए ।फाँटहरु खाली भएर काम हलुका भए पनि कर्मचारीले समयमै गर्न सकिने कामलाई आलटाल गर्ने गरेको सेवाग्राही राजेश तामाङले बताए । मालपोत प्रमुख गुरूप्रसाद पौडेल पनि कार्यकक्षमा भेटिएनन् । कार्यालय आएका तर कता गएका हुन् भन्ने थाहा नभएको एक कर्मचारीले बताए ।

जिल्ला प्रशासन, मालपोत, नापी, विद्युत्जस्ता सेवाग्राही भीड हुने कार्यालय बिहीबार भने भीडरहित देखिए । नेपाल विद्युत् प्राधिकरण टाँडी शाखामा कार्यरत प्रदीप पौडेलले बताए । सेवाग्राही पनि नआउने र कर्मचारी पनि त्यत्तिकै बस्नुको सट्टा बिदा दिनु नै उपयुक्त हुने सरकारी कर्मचारीहरुको भनाइ छ ।सेवा लिन सेवाग्राही नआए पनि सेवा दिने कर्मचारीसमेत केही कार्यालयमा देखिएनन् । भरतपुर महानगर वडा १० को कार्यालयमा पुग्दा वडा अध्यक्षको कुर्सीमा निमित्त वडा अध्यक्ष बलराम जिसी भेटिए । उनले भने, ‘आज खासै सेवाग्राही आएका छैनन् ।’निमित्त वडा अध्यक्ष कुर्सीमा भेटिए पनि कर्मचारीहरु भने भेटिएनन् । वडा सचिव बस्ने कोठाका तीनवटै कुर्सीहरु रित्ता थिए । सेवाग्राही नै नआएपछि कर्मचारीहरु भने आपसमा भेला भएर गफगाफमा व्यस्त थिए । धेरै मानिसमा जनैपूर्णिमामा बिदा हुन्छ भन्ने मानसिकता भएकाले सेवा लिन नआएको हुन सक्ने कर्मचारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *