अनलाईन न्युजपाटी,पोखरा समाचारदाता , साउन ३१।
बागलुङ जिल्ला प्रहरी कार्यालयले छुटाछुटै मुद्दामा आरोप लागेका तीन अभियुक्तलाई आज सार्वजनिक गरेको छ ।
ढोरपाटन नगरपालिका–८ बोबाङ गाउँमा वृद्ध दम्पतीको हत्याका अभियुक्त मृतकका आफ्नै भाइ ६१ वर्षीय मसाने कामीलाई सार्वजनिक गरिएको हो । निजले वोबाङ गाउँमा गत साउन २५ गते राति वृद्ध दम्पतीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोप लागेको थियो ।
निज कामीले घरयासी झगडामा आवेगमा आएर वृद्ध दाइ ६४ वर्षीय भानबहादुर कामी र भाउजु ६० वर्षीया बीमाको हत्या गरेको स्वीकार गरेको उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए । अभियुक्त कामीको घरमा हत्याअगावै पाकेको मासुभात नखाएको फेला परेपछि अनुसन्धानमा सहज भएको प्रहरी प्रमुख भट्टले बताए । “घटनापश्चात् तत्कालै प्रहरीले अनुसन्धान थाल्योे”, प्रहरी प्रमुख भट्टले भने, “घटनास्थलको समयमै अध्ययन गर्न पाउँदा सफलता मिल्यो ।”
यस्तै बागलुङ नगरपालिका-७ की एक १५ वर्षीया किशोरीलाई लामो समयदेखि प्रलोभनमा पारी बलात्कार गर्दै आएको आरोपमा पक्राउ परेका सोही ठाउँका ५४ वर्षीय पतिमान सार्कीलाई गत २९ गते राति पक्राउ गरी आज सार्वजनिक गरिएको हो । निज सार्कीले किशोरीलाई ललाइफकाइ एक वर्षदेखि यौन शोषण गर्दै आएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
यस्तै लागुऔषध प्रयोग तथा कारोवारमा संलग्न रहेको आरोपमा बागलुङ बजारबाट पक्राउ गरिएका ताराखोला गाउँपालिका–१ घर भई बागलुङ नगरपालिका-२ श्रीनगरटोलमा डेरा गरी बस्ने १८ वर्षीय सुुदिन छन्ताललार्ई समेत आज सार्वजनिक गरिएको छ । छन्त्यालको साथबाट डाइजोपाम दुई एम्पुल, फेनरागन दुई एम्पुल र नुर्फिन दुई एम्पुल गरी छ थान लागुऔषधसहित २७ गते सोमबार प्रहरीले पक्राउ गरेको थियो ।