अनलाईन न्युजपाटी,जनकपुर समाचारदाता भदौ १।
विलुप्त हुदै गएको मैथिली संस्कार गीतको संरक्षण र विकास गर्ने उद्देश्यले शनिबार यहाँ मैथिली संस्कार गीत गायन प्रतियोगिताको आयोजना गरियो ।
सखी बहिनपा मिथिलानी समूह जनकपुरधामद्वारा आयोजित सो प्रतियोगितामा बालदेखि वृद्धासम्मको सहभागिता थियो ।प्रतियोगितामा
पूर्णकला झा प्रथम, प्रियाशा चौधरी द्वितीय र रेखा हाथी तृतीय एवं ज्योति झा, सुधा कर्ण, गायत्री झा, गङ्गा कर्ण, नीरा देवी, नीलम झा र आर्या झाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो ।जनकपुर उपमहानगरपालिकाका उपप्रमुख रीता मिश्रले पुरस्कृत हुनेलाई पुरस्कार प्रदान गर्दै मैथिली संस्कार गीत समृद्ध भए पनि वर्तमानमा यसप्रतिको उदासिनताले अस्तित्वमाथि सङ्कट देखिएको बताउनुभयो । उपमहानगरपालिका संस्कार गीतको परम्परालाई जीवन्त राख्न सधैँ सहयोग गर्न तयार रहने बताउँदै उहाँले बाल र युवालाई यसप्रति आकर्षण गराउनु आवश्यक छ भन्नुभयो ।सखी बहिनपा समूहका संस्थापिका आरती झाले विगतमा १६ संस्कार गीत गायन परम्परा रहेको वर्तमानमा जन्मदेखि मृत्यु संस्कारसम्मको संस्कार गीत गायन चलनमा रहनु चिन्ताको विषय हो भन्नुभयो । समूहका सदस्य पुनम झा मैथिल, सुनिता मिश्र, भारती चौधरी, सङ्गीता झा र सम्झना वर्माले संस्कार गीतको महत्वबारे प्रकाश पार्दै गायनलाई गाउँसम्म पुर्याउनु जरूरी भएको धारणा राख्नुभयो ।