अनलाईन न्युजपाटी,विराटनगर,समाचारदाता, भदौ २।
सप्तकोशी नदी सुनसरीको पश्चिम कुशहास्थित पूर्वी तटबन्ध फुटाएर बस्तीमा प्रवेश गर्दा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएको ११ वर्ष भयो । यो एक दशकमा १० वटा सरकार बन्यो ।तर कोशीका विस्तापितसामू सरकारले गरेको बाचा अझैसम्म पूरा भएको छैन । बाढी प्रभावितमध्ये आधा भन्दा बढीले राज्यले घोषणा गरेअनुसार राहत नपाएको बताएका हुन् । “सरकारले आश्वासन देखाएपछि सिंहदरबारसम्म पुग्यौं” कोशी बाढी पीडित संघर्ष समितिका अध्यक्ष मोहमद बाजुद्दिन भन्छन्, “राहतका लागि धाउँदा धाउँदा हामी थाकिसक्यौं ।”
उनका अनुसार ५२० परिवारले राज्यले कबोल गरेअनुसार जग्गा पाएका छैनन् । प्रभावितमध्ये १४२० परिवारलाई सरकारले २ कट्ठाका दरले जग्गा दिने निर्णय भएको थियो । उनीहरुमध्ये ९०२ ले मात्र २ कट्ठा जग्गा पाएका छन् । अझै ५२० परिवार जग्गाको पर्खाइमा छन् । “खेतबारीमा ६ फिट सम्म बालुवा जमेको छ’ बाजुद्दिन भन्छन्, ‘राहत नपाउँदा बाढी पीडितको अवस्था कष्टकर छ ।” राहत नपाउने मध्ये कोशी गाउपालिकाका बासिन्दा बढी छन् । कोशी गाउँपालिका–७ का अध्यक्ष रामचन्द्र महतो कोइरी भन्छन्, ‘काठमाडौं जाँदा प्रदेश सरकारले दिन्छ भन्छन, प्रदेश सरकार राहत दिने स्रोत छैन भन्छ ।’यसैगरी बाढी प्रभावित मध्ये अति प्रभावित ३ हजार ३७० परिवारले ३० कबीका दरले काठ पाउँदा एक हजार ५२० परिवारले अझै पाएका छैनन् ।कोशी गाउँपालिका प्रभावितहरुले राहत नपाएको भन्दै भदौ २ लाई कालो दिनका रुपमा मनाउन थालेका छन् ।