अनलाईन न्युजपाटी,नेपालगंज,समाचारदाता,कार्तिक २५ गते।
आफ्ना नेताहरुलाई पक्राउ गरेको विरोधमा नेपाली कांग्रेस सम्बद्ध तरुण दलले बाँकेको नेपालगञ्जमा प्रहरीविरुद्ध प्रदर्शन गर्दैछ । बाँके प्रहरीले तरुण दल नेपालगञ्ज नगर समितिका सभापति सन्दीपजंग शाहसहितका नेताहरुलाई हतियारसहित पक्राउ गरेको विरोधमा प्रदर्शन गर्न लागिएको हो ।प्रदर्शनका लागि गाउँ-गाउँबाट कांग्रेस कार्यकर्ताहरुलाई नेपालगञ्जमा उतार्ने तयारी गरिएको छ । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँका अनुसार नेपालगञ्ज पार्टी कार्यालयबाट निस्किने विरोध जुलुश नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडि सभामा परिणत हुने छ । सो सभालाई कांग्रेस केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभामा प्रमुख विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, कांग्रेस केन्द्रीय सदस्य रञ्जितसिंह राठौर, कांग्रेस बाँकेकी सभापति किरण कोइराला, तरुण दल केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँ, तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाहलगायतले सम्बोधन गर्नेछन् ।केन्द्रीय उपाध्यक्ष चापागाइँले तरुण दलका नेताहरूलाई जालझेल गरेर फसाउन थालेपछि बाध्य भएर सडकमा उत्रिनु परेको बताए ।इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही नेतृत्वको टोलीले १४ कात्तिकमा जानकी गाउँपालिका-६, गनापुरस्थित नमस्ते रिसोर्टबाट तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जनालाई पक्राउ गरेको थियो । उनीहरुले प्रयोग गरेको बा १८ च ४२११ नम्बरको कारको बायाँतर्फको सिटमा फल्स बटम बनाई लुकाइछिपाइ राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोलीसमेत बरामद भएको प्रहरीको भनाइ छ ।