अनलाईन न्युजपाटी,भद्रपुर,समाचारदाता भदौ १४ गते।
बहुमुल्य लोपोन्मुख टोक्यो जेको (छेपारो प्रजातिको जीव) को तस्करी गरेको आरोपमा दुईजना नेपाली नागरिक भारतको पश्चिम बंगालमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा जिल्ला बस्ने मोहनलाल क्षेत्री र ठाकुरप्रसाद गौतम रहेको भारतीय प्रहरीले जनाएको छ। नेपाल-भारत सीमानास्थित सशस्त्र प्रहरी बल ४१ औँ बटालियन (एसएसबी) को टोली नेपाली दुई नागरिकलाई टोक्यो जेको (छेपारो प्रजातिको जीव) सहित पक्राउ गरेको हो। पश्चिम बंगालको दार्जिलिङ जिल्लास्थित नक्सलबारीबाट पानी ट्यांकी–काँकडभिट्टा नाकातर्फ आइरहेका उनीहरूलाई गोप्य सूचनाको आधारमा एसएसबीले पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। पक्राउ परेका दुवै नेपाली नागरिकलाई आवश्यक अनुसन्धानका लागि एसएसबीले नक्सलबारीको रथ खोला वन विभागलाई बुझाइसकेको जनाइएको छ। उनीहरूले टोक्यो जेको कहाँबाट कुन प्रयोजनका लागि ल्याएको हो भन्ने विषयमा केही खुलाएको छैन। टोक्यो जेको उनीहरूले नेपाल लैजान खोजको एसएबसीको आशंका गरेको छ। टोक्यो जेकोलाई घरेलु औषधिका रूपमा एड्स, क्यान्सर, दमजस्ता जटिल रोग निको पार्नेमा प्रयोग गर्ने गरेको चिकित्सकको भनाइ छ।