अनलाईन न्युजपाटी,हेटौंडा,समाचारदाता,माघ ११ गते।
हेटौंडा सिमेन्ट उद्योगमा सामग्री खरिद र कर्मचारी भर्नामा अनियमितता भएको राष्ट्रिय सतर्कता केन्द्रको छानबिनबाट फेला परेको छ । सिमेन्ट उद्योगमा कर्मचारी भर्ना प्रक्रिया, कर्मचारीको सेवासुविधा र सामग्री खरिदमा अनियमितता भएको उजुरीपश्चात छानबिन गर्दा अनियमितता भएको देखिएको केन्द्रको छानबिन प्रतिवेदनमा उल्लेख गरिएको छ । छानबिनमा हेटौंडा सिमेन्ट उद्योगमा ३ वटा बर्नर पदको दरबन्दीमा पदपूर्ति हुँदाहुँदै दरबन्दी नै नभएका थप ३ पदमा विज्ञापन खोलेर छनोट गरेको र बर्नर चिफ पद नै नरहेको अवस्थामा कर्मचारी नियुक्त गरेको प्रतिवेदनमा उल्लेख छ । दरबन्दी नै नभएको पदमा विज्ञापन आह्वान गरेर उद्योगकै पूर्व कर्मचारीलाई छनोट गरी अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ । उद्योगलाई आवश्यक पर्ने सामग्री खरिद योजना र लागत अनुमान नै तयार नगरी ४३ लाखभन्दा बढीको सामग्री खरिद गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । बर्नर पदमा कर्मचारी रिक्त नहुँदै सिमेन्ट उद्योगमा २०७२ भदौमा ४ कर्मचारीको लागि आवेदन माग गरिएको थियो । उद्योगबाट अवकाश प्राप्त कर्मचारीहरू रामचन्द्रप्रसाद रौनियार, अनिरुद्रप्रसाद सिंह र श्यामप्रसाद श्रेष्ठलाई उद्योगले बर्नर पदमा छनोट गरेको छ ।