भुक्तानी बाँकी रहेको भन्दै प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, पौष १६ गते।

प्रदेश नम्बर २ सरकारले गत आर्थिक वर्षमा सम्पन्न आयोजनाहरूको बक्यौता रकम भुक्तानी नगरेको भन्दै भौतिक विकास निर्माणका लागि गठित उपभोक्ता समितिहरुले प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन् । 

धनुषा र महोत्तरी लगायतका विभिन्न ठाउँबाट जम्मा भएका उपभोक्ता समितिले मंगलबार प्रदेशसभा अगाडि सरकारको विरोधमा प्रदर्शन गरेका हुन् ।प्रदर्शनका क्रममा मुख्यमन्त्री लालबाबु राउत र आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवको राजीनामा माग गर्दै नाराबाजी समेत गरिएको थियो । उपभोक्ता समितिको आन्दोलनमा सहभागीले प्रदेश सरकार जनअपेक्षा अनुसार काम गर्न असफल भएको भन्दै तत्काल राजीनामा दिन माग गरेका थिए ।

उक्त आन्दोलनप्रति सत्तारुढ दल राजपाका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री रामनरेश यादव र राजपा सांसद उपेन्द्र महतोले समर्थन जनाएका थिए । 

प्रदेशसभा बैठकमा सहभागी हुन जाने क्रममा उनीहरूले उपभोक्ता समितिको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । गत आर्थिक वर्ष २०७५:७६ मा प्रदेश सरकारद्वारा सञ्चालित ८ सय ४२ योजनामा ८६ करोड ५२ लाख ३० हजार ४५ रुपैयाँ भुक्तानी बाँकी रहेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *