अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,माघ १ गते।
आज माघ १ गते, चाकु, तरुल र तिलको लड्डुजस्ता खानेकुरा खाएर माघे संक्रान्ति पर्व मनाइँदैछ। हरेक वर्ष माघे संक्रान्तिलाई विशेष रुपमा मनाउने चलन छ। विभिन्न समुदायले यसलाई भिन्नभिन्न तरिकाले मनाउँछन्। माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ।
आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोषिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ। माघ १ का दिन तिलौराको रुपमा तिल दान गर्ने चलन छ, जुन सुन दान गरिए सरह हुने धर्मशास्त्रमा उल्लेख छ। माघे सक्रान्तीकै लागि सुदूरपश्चिम सरकारले प्रदेशभरी आज सार्वजनि विदा दिएको छ।
यस्तै थारु समुदायमा माघीलाई नयाँ वर्षको सुरुवात गर्ने पर्वको रुपमा हर्षोल्लासका साथ मनाईरहेका छन। माघी पर्व मनाउन टाढा–टाढा बसेकाहरुको गाउँघरमा जमघट भएको छ भने चेलीबेटीहरु माइती घर पुगेका छन्।माघीमा थारू जातिको मौलिक पकवान ढिक्री, मासु, जाँड लगायतका परिकार खाने र खुवाउने गरिन्छ।