अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, साउन १७ गते
तीव्र रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विराटनगर महानगरपालिका क्षेत्रभित्र पुनः ‘लकडाउन’ गरिएको छ ।

शुक्रबार राति १२ बजेबाटै लागू हुने गरी ‘लकडाउन’ गरिएको भए पनि त्यसको कार्यान्वयन र पालना गराउने सवालमा शनिबार बिहानैबाट सबै ठाउँमा कडाई गरिएको छ ।
दुई साताका लागि गरिएको ‘लकडाउन’का अवधिमा घरबाट बाहिर निस्किएर हिँडडुल गर्न, बजार पसल खुल्ला राख्न, सवारी साधन सञ्चालन गर्न, एकअर्कामा सामूहिक रुपमा भेटघाट गर्न र मास्क नलगाइकन हिँड्न पूर्ण रुपमा रोक लगाइएको छ ।
समुदायस्तरमा कोरोना संक्रमण फैलिएको निष्कर्षसहित महानगरले यस पटक विराटनगरको अति भीड हुने पुरानो र नयाँ गुद्री बजार समेत बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक भीड लाग्ने गुद्री बजार यस पटक पूर्ण रुपमा बन्द गरिने भएको हो ।
यसअघि विराटनगर महानगरपालिकाले संक्रमण थप फैलन नदिन लकडाउनमा जानुपर्ने बताएपनि प्रदेश सरकारले त्यसमा सहमति दिएको थिएन ।
शुक्रबार सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले कोरोना रोकथामका लागि प्रदेश सरकारले स्थानीय तहरुलाई आवश्यकता अनुसार कदम चाल्न सक्नेगरी बाटो खोलिदिएको थियो ।