अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता भदौ २६ गते
सीमा सुरक्षा लगायत अवैध गतिविधि नियन्त्रणमा खट्दै आएका कपिलवस्तुमा सशस्त्र प्रहरी बलको दुई वटा बिओपीको उद्घाटन सम्पन्न भएको छ ।

जिल्लाको विजयनगर गाउँपालिका ५ डालपुर र कृष्णनगर नगरपालिका ६ भिल्मीमा भवन निमार्ण भएपछि सशस्त्र प्रहरीलाई सजिलो सिमा सुरक्षा , चोरि तस्करि लगायत अवैध क्रियाकलाप नियन्त्रण गर्न सजिलो भएको छ ।
यस अगाडी उनीहरू पुरानो तथा जीर्ण रहेको भवनमा रही काम गर्दै आएका थिए । नव निर्मित भवनमा कार्यालय, जवान ब्यारेक, वास सुविधा सहितको शौचालय समेत रहेको छ ।
नव निर्मित २ वि.ओ.पी. (बोर्डर आउट पोस्ट) भवनको शुक्रवार उद्घाटन गरिएको छ । विन्दवासिनी बाहिनी प्रदेश नम्बर ५ का बाहिनी पती सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधानले कार्यक्रमका बिच समुद्घाटन गरेका छन् ।
भवन उद्घाटन गर्दै बाहिनी पती प्रधानले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न समेत अनुरोध गरेका थिए ।
डालपुरमा १३ वर्ष अगाडी देखी सुरक्षा बेस स्थापना सञ्चालनमा रहेको थियो । २०६४ सालमा कपिलवस्तुका चर्चित नेता मोईद खाँको हत्या पछि भड्किएको हिंसालाई नियन्त्रणका लागी डालपुरमा सशस्त्र प्रहरीको सुरक्षा बेस स्थापना गरिएको थियो ।
२०७५ माघ २ गते नेपाल सरकारको निर्णय अनुसार विओपिको रूपमा स्तारोन्नती भएको थियो । भिल्मीमा २०७० सालमा विओपी स्थापना भए पनि सुरक्षित भवनको प्रबन्ध रहेको थिएन । डालपुरको भवन १ करोड ९३ लाख र भिल्मीमा रहेको भवन ७५ लाख ९० हजार को लागतमा निमार्ण भएको सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धुव्र बहादुर कार्कीले बताएका छन् ।
भवन नहुदाँ सशस्त्र प्रहरी कमजोर संरचना भएको जीर्ण भवनमा बस्दै आएका थिए । भवन निमार्ण पछि सशस्त्र प्रहरीलाई काम गर्न अझ सजिलो हुने विजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बताउनु भयो ।
महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले कोरोना नियन्त्रण र आइसोलेसन व्यवस्थापनमा सशस्त्र प्रहरीले पुराएको सहयोगको प्रशंसा गरेका थिए । डालपुरमा विओपि निमार्णका लागी स्थानीयले १४ लाख रुपैया सङ्कलन गरेर १८.५ कट्ठा जग्गा खरिद गरी हस्तान्तरण गरेका थिए ।