अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १८ गते
म्याद गुज्रेको खाद्य पदार्थमा रिलेबलिङ गर्ने अर्को अड्डा पनि प्रहरीले फेला पारेको छ । गत बिहीबारदेखि प्रहरीले यस्तो कार्यमा संलग्न स्थानमा छापा मार्दै संलग्नहरुलाई धमाधम पक्राउ गर्ने क्रममा आज ठूलो परिमाणमा खाद्य सामग्री बरामद गर्नुका साथै केहीलाई पक्राउ पनि गरेको छ ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले म्याद नाघेको सामग्रीमा नयाँ लेबलिङ गरेर सामान बिक्री गरेको पाइएपछि गोदाममा छापा हानेको हो ।
कलंकीको एक घरमा राखिएको गोदाममा चकलेट र बेकरी सामानमा नयाँ लेबलिङ गर्दैै गरिएको अवस्थामा छापा हानिएको कालिमाटीका डीएसपी अपिलराज बोहोराले बताए ।

उनका अनुसार केकमा प्रयोग गरिने चेरी, पिठो, तेल लगायतमा पनि म्याद गुज्रिएको पाइएको छ ।
प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत समस्तीपुर, विहारका ५२ वर्षीय अनिलकुमार बंका, आनन्दकुमार अवस्थी, रस्मिता श्रेष्ठ र विनोद ओझा छन् । अवस्थी लेखापाल, श्रेष्ठ क्वालिटी म्यानेजर र ओझा स्टोर किपर रहेको प्रहरीले जनाएको छ ।