महाकाली अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १८ गते

आईसीयुमा उपचाररत एक जना बिरामीमा कोरोना संक्रमण देखिएपछि महाकाली अस्पतालका आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन्।

महाकाली अस्पताल प्रशासनले आईतबार बिहानबाट अन्य सेवा बन्द गर्ने निर्णय गरेको हो। तीन दिनदेखि निमोनियाबाट ग्रसित बिरामीलाई आईसियु कक्षमा उपचार गरिरहेका बेला स्वाब परीक्षण गर्दा कोरोना देखिएपछि सतर्कता अपनाउन अस्पताल हाता भित्र ओपिडी लगायतका कक्षमा सेनेटाइज गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरि कुमार श्रेष्ठले बताए।

अस्पताल प्रशासनका अनुसार असोज १५ गते भर्ना भई आईसीयुमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण देखिएको हो। शनिबार साँझ मात्रै संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएलगत्तै अस्पताल सञ्चालक समितिले आकस्मिक बैठक बसेर अस्पताल बन्द गर्ने निर्णय गरेको हो। अहिले महाकाली अस्पतालमा ३१ जना कोरोना पोजिटिभ विरामीको आईसोलेशनमा उपचाररत रहेका छन्। एक जनाको अवस्था गम्भिर रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *