अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २५ गते
कोभिड–१९ महामारीको त्राससँगै गत चैतदेखि बन्द भएको कालीगण्डकी करिडोर निर्माणको काम पुनः शुरु भएको छ । नेपालको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटदेखि पाल्पासम्मको सडकखण्ड निर्माणको काम शुरु गरिएको निर्माण पक्षले जनाएको छ ।
“कोरोनाको सङ्क्रमणको उच्च जोखिमका कारण चैतदेखि करिब सात महिनासम्म आयोजना नै ठप्प हुन पुग्यो”, निर्माण कम्पनी आशिष निर्माण सेवाका साइड इन्चार्ज कपिल गौलीले भन्नुभयो, “कोरोना महामारीका कारण सबै कामदार घर जाँदा काम ठप्प भएको थियो, अहिले केही कामदार ल्याएर निर्माणको काम पुनः थालेका छौँ ।” कोरोना जोखिमका कारण काम गर्न असहज परिस्थिति सिर्जना भएको भए पनि अब दशैँलगत्तै करिडोर निर्माणको कामले तीव्रता पाउने गौलीले बताउनुभयो ।
यस करिडोरको गैँडाकोट–पाल्पा सडकखण्डमा ३२ वटा पुल निर्माणकार्य अन्तिम चरणमा पुगेका कालीगण्डकी करिडोर निर्माण आयोजनाका सबइञ्जीनियर पदम अधिकारीले बताए । काम शुरु भएको करिब दुई वर्ष बित्नै लाग्दा सो सडकको प्रगति ३० प्रतिशत मात्रै देखिएको अधिकारीले बताए । सडक निर्माण समयमा नै सक्नका लागि आयोजनाको तर्फबाट निर्माण पक्षलाई निरन्तर सचेत गराइएको अधिकारीको भनाइ छ ।