अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २० गते
कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा तीव्रगतिमा फैलिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रमा लकडाउनको घोषणा गरेको छ ।
बुधबार दिउँसो बसेको नगर कार्यपालिका बैठकले बुधबार राति १२ बजेदेखि आगामी मङ्गलबार रातिसम्म लकडाउन गर्ने घोषणा गरेको हो । यो अवधिमा नगर क्षेत्रमा राजमार्गसँग जोडिएको बजारसँगै ढोरफिर्दी र साँखे बजार पनि बन्द रहने नगर प्रवक्ता खिमबहादुर कुमालले बताए ।

उनका अनुसार अत्यावश्क सेवामा पर्ने स्वास्थ्य, सरसफाइ र विपद् व्यवस्थापन बाहेक बैंक तथा वित्तीय संस्था, सामाजिक सङ्घसंस्था, सार्वजनिक र निजी संस्थान, उद्योग कलकारखाना र यातायातले दिने सेवा बन्द हुनेछ ।
“पूर्व निर्धारित कक्षा ११ को परीक्षा भने सञ्चालन हुनेछ । परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना हुनुपर्नेछ,” प्रवक्ता कुमालले भने ।
नगरपालिकाले अत्यावश्क कामबाहेक घरबाट बाहिर ननिस्कन नगरबासीलाई सचेत गराएको छ । मास्क लगाउने, समूहमा हिँडडुल नगर्ने, भौतिक दूरी कायम गर्ने र धार्मिक तथा सामाजिक कार्यका लागि भेला नहुन भनिएको छ ।
शुक्लागण्डकीको मुख्य व्यापारिक केन्द्र दुलेगौँडा बजारमा कोरोनाको सङ्क्रमण भित्रभित्रै फैलिएपछि जनस्तरबाट लकडाउन गर्न आवाज उठिरहेको थियो ।