हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढ्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मङ्सिर २ गते

हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन पनि प्रभावित भएको छ ।

यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो ।जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीयले बताउनुभयो ।

बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ ।हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ ।

मानिसहरु हिउँमा रमाउन थालेका छन् । आइतबार बिहानै हिमपात हुँदा किसान खुशी भएका थिए । जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् ।

मंगलबार बिहानदेखि हुम्लाको मौसम सफा रहेको भए पनि हिमालहरु हिउँले सेताम्मे हुनुका साथै चिसो बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *