अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ११ गते
देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन थालिएको हो ।
गत कात्तिक २ र ३ गते खुवाउनुपर्नेमा बडादसैंका कारणले एक महिनापछि खुवाउन थालिएको स्वास्थ्य सेवा विभाग, महिलाकल्याण महाशाखा, पोषण शाखाका जनस्वास्थ्य अधिकृत कल्पना पाण्डेले बताउनुभयो । यसअघि कोरोना भाइरसका कारणले वैशाखमा भिटामिन ‘ए’ कार्यक्रम लागू हुनुपर्नेमा गत असार २२ र २३ गते गरिएको थियो ।
एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाबाट बचाउन औषधि खुवाइन्छ ।
मुलुकका ७५३ स्थानीय तहका सबै वडामा स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ खुवाउन थालिएको हो । सरकारले विसं २०५० देख कुपोषणबाट बचाउन र भिटामिन ‘ए’ बाट हुने रोग नियन्त्रण गर्न भिटामिन ‘ए’ कार्यक्रम लागू गरेको हो ।