अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,मङ्सिर १७ गते
दुई प्रहरीको हत्या आरोपमा कैलालीमा पक्राउ परेका ८ जना कारागार चलान भएका छन् । धनगढी उपमहानगरपालिकाको अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान भएका हुन् ।
जिल्ला अदालत कैलालीमा मंगलबार भएको थुनछेक बहसपछि हत्या अभियोगमा पक्राउ परेका धनगढीकै ८ जना पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ ।
हत्या अभियोगमा पक्राउ परेका धनगढी– १० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना (क), रोहित राना (ख), सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।
यस्तै २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल राना पनि कारागार चलान भएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।
गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद वेपत्ता भएका थिए । बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने दुई दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए ।