अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,मङ्सिर १७ गते
बैतडीको डिलाशैनी गाउँपालिकामा कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि ११ दिनका लागि लकडाउन गरिएको छ।
डिलाशैनीका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले बताए। कोरोना जोखिम बढेको र गाउँपालिकामा अहिले १६ सक्रिय सङ्क्रमित रहेकाले विपद् व्यवस्थापन समितिको निर्णयानुसार लकडाउन गरिएको उनले बताए।

मंसिर २६ गतेसम्म हुने लकडाउनको अवधिमा छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइने र गाउँपालिका र सातवटै वडा कार्यालयबाट प्रदान हुने आकस्मिकबाहेकका सबै सेवा बन्द गरिने भएको छ। यस्तै गाउँपालिकाभरिका विद्यालय बन्द रहनेछन् भने भीडभाड हुने खालका सबै कार्यक्रमका रोक लगाइएको गाउँपालिकाले जनाएको छ।
लकडाउनको अवधिमा दैनिक उपभोग्य पसल बिहान ८ देखि ९ बजेसम्म खुला राख्ने, गाउँपालिकाभित्रका बैंक तथा वित्तीय संस्था हप्ताको तीन दिन आइतबार, मङ्गलबार र बिहीबार मात्रै खुला रहने बताइएको छ। यस्तै लकडाउनको अवधिमा स्वास्थ्य सेवा प्रदायक संस्था, एम्बुलेन्सलगायतका सेवा पनि सञ्चालन हुने जनाइएको छ। पछिल्लो समयमा डिलाशैनी गाउँपालिकाको समुदायमा कोरोना फैलिएको आशङ्का गरिएको छ।