अनलाईन न्युजपाटी,उदयपुर,समाचारदाता, पौष २६ गते।
उदयपुरमा संघिय नमूना युवा सांसद तथा केन्द्रीय बाल संजालका निर्वतमान अध्यक्ष सुरेश गुप्ता सहित दुई जना शुक्रबार पक्राउ परेको छ । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्ध कसुर मुद्धामा मंसिर १९ गते पक्राउ परि प्रहरी हिरासतमा रहेका अंन्चु शेर्पालाई छुटाई दिने अभिभावकलाई ललाई फकाई विश्वास दिलाई झुक्यानमा पारी पैसा ठगी गरेको आरोपमा सुरेश गुप्ता र रुपेश दनुवारलाई प्रहरीले पक्राउ गरेको हो । ३५ वर्षिय गुप्ता त्रियुगा नगरपालिका १२ पुरानो गाईघाट निवासी हुन भने २४ वर्षिय दनुवार त्रियुगा नगरपालिका ८ राजाबास निबासी हुन् । गुप्ता त्रियुगा नगर युवा संजालका अध्यक्ष हुन भने दनुवार सचिव समेत हुन् ।गत मंसिर १९ गते लागूऔषध सहित पक्राउ परेका शेर्पालाई छुटाई दिए एक लाख लाग्ने भन्दै अभिभावकलाई प्रलोभनमा पारी १० हजार पेश्की लिएका थिए । पेश्की बापत रकम लिए पनि शेर्पा २५ दिन प्रहरी हिरासतमा रही जिल्ला प्रशासन कार्यालय उदयपुरमा मुद्धा चालु अवस्थामै रहने गरी करिव ५० हजार धरौटीमा छोडन आदेश दिएपछि गुप्ता र दनुवारको करतुत बाहिर आएको हो । छोरा नछुटेपछि अभिभावकले पैसा फिर्ता माग्दा पैसा छुटाउनेलाई दिई सकिएको भन्दै आनाकानी गरेपछि प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताए । गुप्ता र दनुवारसँग पैसा माग्दा पैसा हामीसँग छैन हामी तपाईको छोरा छुटाउन एसपीलाई ५ हजार र सिडिओलाई ५ हजार दिएको बताउँदै पन्छिने गरेपछि उजुरीका आधारमा उनीहरुलाई पक्राउ गर्नु परेको एसपी मगरले बताए । उनीहरुलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले म्याद दिएको छ ।