अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता,माघ २ गते।
धनगढीमा बुधवार राती युवाहरुबिच झडप भएको छ। राती साढे १० बजे धनगढी उप–महानगरपालिका वडा नम्वर १ अस्पताल लाईनमा युवाहरुको समूहबिच झडप भएको हो। युवाहरुको एक समूहले धनगढी उप–महानगरपालिका वडा नम्वर १ अदालत रोड बस्ने २३ बर्षीय समिर तियालीमाथि सांघातिक आक्रमण गरेपछि झडप भएको हो।आक्रमणपछि तियाली घाईते भएका छन्। उनलाई उपचारका लागि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। दुई जनालाई राती नै पक्राउ गरिएको उनले जानकारी दिए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ बस्ने २२ बर्षीय चन्द्र भाट र २१ बर्षीय शुभम शाहलाई पक्राउ गरिएको उनले बताए। झडपका क्रममा धनगढीको मुख्य सडकमै रहेको कैलाली अस्पतालमा पनि तोडफोड भएको छ। अस्पतालका सञ्चालक जनकराज जोशीले झडपकै क्रममा ढुङगामुडा गरेपछि अस्पतालमा पनि क्षती भएको बताए।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतले भने तियालीमाथि आक्रमण गर्ने क्रममा अस्पतालमा ढुङगा लागेको हुन सक्ने बताए। घटनामा संग्लन थप २ जनाको खोजी भईरहेको प्रहरी नायव उपरिक्षक बस्नेतले अनलाईन न्युजपाटीलाई बताए।