अनलाईन न्युजपाटी,धरान समाचारदाता,माघ २२ गते।
धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको पुरुष छात्रवासमा हिजो राती बवाल भएको छ । एमविविएस प्रथम बर्षमा अध्ययनरत एक विदार्थी रयागिङको शिकार भई घरबाट होस्टल जान नमाने पछि अभिभावक लिएर राती होस्टल प्रवेश गरेको विषयमा बवाल भएको हो ।
एमविविएस पहिलो बर्षमा अध्ययनरत विद्यार्थीलाई सिनियर विद्यार्थीहरुले रयागिङ गरे पछि होस्टेल जान नमानेका एक विद्यार्थीलाई होस्टल पुर्याउन आएका अभिभावकसँग हिजो राती झगडा भएको हो । पुरुष छात्राबासका होस्टल नं. ५ र ६ मा बस्ने विद्यार्थीहरुले बाहिरको मान्छे आएर असुरक्षित भएका भन्दैं राती १० बजे होहल्ला गरेका थिए ।इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेको टोली पुगेर स्थितिलाई नियन्त्रणमा लिएको थियो । डिएसपी न्यौपानेका अनुसार धरानका व्यवसायी अनिल अग्रवालका सालाका छोरा प्रतिष्ठानमा एमविविएस पहिलो बर्षमा भर्ना भएका थिए । सिनियर विद्यार्थीहरुले रयागिङ गरेका कारण उनी होस्टल नै जान नमाने पछि अनिल अग्रवालसहित उनलाई पुर्याउन होस्टल पुगेका थिए ।होस्टलमा राती बाहिरका मान्छे आएको सुरक्षा कमजोर भएको भन्दैं विद्यार्थीहरुले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बोलाएका थिए । बाहिरका व्यक्तिहरु नियमित होस्टलमा प्रवेश गरेर विद्यार्थीहरु असुरक्षित हुने गरेको विद्यार्थीहरुले बताउदैं आएका छन् ।घटनाबारे आज ११ बजे इलाका प्रहरी कार्यालयमा छलफल गर्ने सहमति भएको डिएसपी न्यौपानेले जानकारी दिए । होस्टलको सुरक्षा र त्यहाँ नयाँ विद्यार्थीहरुलाई हुने रयागिङबारे आज प्रतिष्ठान प्रशासनलाई बोलाएर छलफल गर्ने डिएसपी न्यौपानेले जानकारी दिए । ‘प्रतिष्ठानमा नयाँ विद्यार्थीहरु निकै समस्यामा रहेछन् । सिनियर विद्यार्थीहरुले तनाव दिएर कतिपय पढाई छाड्ने, मानसिक रोगीसम्म भएको उदाहरण पाइयो ।