नाकाहरुमा कडाई गर्दै सीमामा क्वारेन्टाइन बनाइने: उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,फाल्गुन २२ गते।

नोबेल कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले सीमा नाकाहरुमा कडाई गर्ने भएको छ। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार रक्षा मन्त्रालयमा बसेको बैठकले सीमा नाकाहरुमा क्वारेन्टाइन भवन निर्माण गर्ने तथा क्रसबोर्डर मिटिङ गर्ने र हेल्थ डेस्क बढाउने निर्णय गरेको हो।

चीनबाट फैलिएको कोरोना भाइरस विश्वभर देखिन थालेको र खुल्ला सिमाना भएको छिमेकी मुलुकमा समेत देखिएकोले विमानस्थल र सीमामा सरकारले सुरक्षा बढाउन लागेको हो। त्यस्तै सीमामा आवगमन कम गर्ने, निकासी नियन्त्रण गर्ने, मास्क र औषधिको आपूर्तिमा समस्या पर्न नदिने गरी उत्पादन बढाउने, भारतबाट औषधि तथा आत्यावश्यक सामाग्री आयात गर्ने निर्णय समेत बैठकले गरेको छ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भारत सरकारले अत्यावश्यक औषधिको माग गरेमा नेपाल सरकारलाई आपूर्ति गर्ने खबर पठाएको भन्दै औषधि अभावको समस्या नहुने बताए। त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघसँग समन्वय गरी छिटो भन्दा छिटो मास्कको उत्पादन बढाउने निर्णय भएको समेत उनले बताए।

विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई कोरोना संक्रमण हुन सक्ने भएकाले छिटो परीक्षा सम्पन्न गराउन शिक्षा मन्त्रालयलाई निर्देशन समेत दिएको छ। कोरोना नियन्त्रण र रोकथामका लागि विश्व बैंकबाट सहायता लिने संक्रमित मुलुकहरुमा स्वास्थ्य सचेताना सम्बन्धि काम गर्ने, प्रदेश सरकार र स्थानीय तहलाई आपूर्ति व्यवस्थाका लागि अनुरोध गर्ने लगायतका निर्णय समेत बैठकले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *