अनलाईन न्युजपाटी,पोखरा,समाचारदादाता,चैत १० गते।
तनहुँको आबुखैरेनीमा मिनिबस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस आइतबार साँझ ६.३० बजे सडकबाट करिब एक सय मिटर तल मस्र्याङ्दी नदीमा खसी दुर्घटना भएको इलाका प्रहरी कार्यालय आवुँखैरेनीका प्रमुख प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीले अनलाईन न्युजपाटीलाई जानकारी दिनु भयो ।
मृतक कसैको पनि सनाखत भएको छैन । दुर्घटनामा १७ जना यात्रु घाईते हुनुभएको छ । घाईते मध्ये दुई जनालाई थप उपचारका लागि पोखरा र दुई जनालाई चितवन मेडिकल कलेज भरतपुर पठाईएको छ भने बाँकीको छिम्केश्वरी अस्पताल आवुँखैरेनीमा उपचार भईरहेको प्रहरी निरिक्षक सुवेदीले अनलाईन न्युजपाटीलाई जानकारी दिनुभयो ।
बसका यात्रु मध्ये पाँच जनाको सकुशल उद्धार गरिएको र उहाँहरु घर तर्फ लाग्नु भएको छ । दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले उद्धार गर्नु भएको थियो ।