धार्चुलामा रहेका नेपाली सर्बोच्चको आदेशपछि पनि प्रवेश गर्न अझै केही दिन लाग्ने

अनलाईन न्युजपाटी धनगढी,समाचारदाता,चैत्र २६ गते।

लकडाउनका कारण भारतमा काम गर्ने नेपालीहरु आफ्नो देश फर्किन लाग्दा उनीहरु नेपाल भारत सिमाना धार्चुलामा केहिदिन देखि अलपत्र परेका छन् । सर्बोच्च अदालतले भारतको धार्चुलामा कष्टपूर्ण रुपमा क्वारेन्टाईनमा बसिरहेका नेपालीहरुलाई नेपाल प्रबेश गर्न दिन सरकारलाई आदेश दिएपनि उनीहरुले तत्काल नेपाल प्रबेश गर्न नपाउने देखिएको छ ।

सर्बोच्च अदालतले हिजो सरकारलाई भारतको धार्चुलामा कष्टपूर्ण रुपमा क्वारेन्टाईनमा बसिरहेका नेपालीहरुलाई नेपाल प्रबेश गर्न आदेश दिदै उनीहरुलाई नेपालमा सुरक्षित रुपमा क्वारेन्टाईनमा राख्न निर्देशन दिएको थियो । सरकारलाई पाँच बूँदे सुझाव सहित सर्बोच्चले दिएको आदेश गृह मन्त्रालय हुदै जिल्लामा आईपुग्न समय लाग्ने भएकोले उनीहरु अझै धार्चुलामा बस्नु पर्ने देखिन्छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सर्बोच्चले दिएको आदेश र सरकारले कोरोना रोकथामका लागि गरिरहेका प्रयासहरु समान भएकोले उनीहरुलाई भारतमै केही दिन सुरक्षित तवरले राखेर नेपाल प्रबेश गराउने बताए । सर्बोच्च अदालतले तत्काल नेपाल प्रबेश गर्न सरकारलाई आदेश दिएको छ । त्यसको जानकारी गृह मन्त्रालयलाई भएपछि गृहले हामीलाई निर्देशन दिनेछ । प्रजिअ, पौडेलले भने, गृहको आदेश आएपछि मात्र हामी भारतमा रहेका नेपालीहरुलाई प्रवेश गर्ने व्यवस्था मिलाउनेछौ ।

धार्चुलाको जौलजिवीदेखि झोलुंगे पुलसम्मका  बिद्यालय, कलेज,स्टेडियम लगायत ६ वटा क्वारेन्टाईनमा बिगत एक साता यता एक हजार एक सय नेपाली कष्टपूर्ण जीवन बिताईरहेका छन् । एउटै हलमा सयौ नेपालीहरु कोचिएर बसिरहेकाले उनीहरु कोरोना मात्र नभएर अन्य संक्रामक रोगको जोखिममा छन् । उनीहरुलाई भारत सरकारले खान बस्नको व्यवस्था गरिरहेको प्रजिअ पौडेलले बताए । प्रजिअ पौडेलले उनीहरुको नियमित रुपमा स्वास्थ्य जाँच भईरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *