नेपालको मुस्लिम आयोगद्धारा रमजानमा घरमै नमाज पढ्न आग्रह

अनलाईन न्युजपाटी काठमाडौँ, समाचारदाता, बैशाख १२ गते

शनिवारबाट सुरु हुने मुस्लिम समुदायको रमजान पर्वको बेला यसपाली मस्जिदमा भिडभाड नगरि घरभित्रै नमाज पढ्न मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालका मुस्लिम समुदायलाई अपिल गरेका छन्।

उदयपुरको मस्जिदसँग सम्बन्धित कोरोनाभाइरसको सङ्क्रमणको सङ्ख्या बढेपछि देशका विभिन्न भागका मस्जिद तथा मद्रासाहरूमा सतर्कता बढाउन अनि आवश्यक ठाउँमा परीक्षण पनि गराउन आयोगले प्रशासन तथा स्वास्थ्यमन्त्रालयसँग मिलेर काम गरिरहेको अन्सारीले बताएका छन्।रोगको कुनै जात र धर्म नहुने भन्दै उनले सरकारले लागु गराएको ‘लकडाउन’ तथा सामाजिक दूरीका नियमहरू पर्वका बेला पनि पालना गर्न सबैलाई अपिल गरेका छन्।

नेपालमा रमजान शनिवारबाट सुरु हुने र एक महिना चल्ने बताइएको छ। नेपालमा हालसम्म कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको सङ्ख्या ४८ पुगेको छ जसमध्ये १० जना निको भइसकेका छन्।स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हाल बाग्लुङमा १ जना, धनगढीमा १ जना, भरतपुरमा २ जना, वीरगञ्जमा ५ जना र विराटनगरमा २९ जना उपचाररत छन्।

पछिल्लो सङ्क्रमित भोजपुरका २६ वर्षीय पुरुषलाई विराटनगरमा उपचारका लागि लगिँदै गरेको उनले बताए। हालसम्म सबैजनाको अवस्था सामान्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *