अनलाईन न्युजपाटी कृष्णा यादव, बीरगन्ज समाचारदाता बैशाख २५ गते
बुधबार एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला सुरक्षा समिति पर्साले वीरगन्ज महानगरपालिकाको तीन वटा वडा सिल गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको सुरक्षा समितिल कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुको सर्म्पकमा आएका सबैको शीघ्र कन्ट्याक्ट ट्रेसिङ गरी चेकजाँचको कामलाई तीव्र पार्ने पनि निर्णय गरेको छ ।
कोरोना संक्रमण फैलनबाट रोक्न पूर्वमा रजत जयन्ती चौक, इदगाहचौक, छपकैया बिट चौक, मालपोत चौक, पश्चिममा छपकैया बजार चौक, सर्सिया पुल चौक, सिर्सिया भन्सार, उत्तरतर्फ एमबिएस स्कुल, पानी ट्यांकी चौक, युक्ति सुधार केन्द्र, बहिपुल, दक्षिणतर्फ वीरगन्ज महानगरपालिका १ र २ का भारतसँग सीमा जोडिएका सीमा क्षेत्र सहित वडा १, २ र ३ का वडाको क्षेत्र सम्म शिलबन्दी गर्ने निर्णय गरेको छ।
अत्यावश्यक अवस्थामा जिल्ला प्रशासन कार्यालयले पास जारी गरेका बाहेकका अन्य सबै प्रकारका सवारी साधनहरु सञ्चालन गर्न पूर्ण रुपमा निषेध गरिएको जानकारी गराएको छ। कृषि उत्पादन, खाद्यान्न तथा अन्य वस्तुहरुको ढुवानी पूर्व गरेको निर्णय अनुसार नै गर्न दिने र अत्यावाश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट बाहिन निस्कन निषेध गर्ने निर्णय गरिएको प्रमुख सहायक जिल्ला अधिकारी बस्नेतले अनलाईन न्युजपाटीलाई बताए ।