अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २ गते
लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ । कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले जेठ पाँच गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो ।
स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ । जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ ।
अहिलेको अवस्था र लकडाउनको मोडालिटी परिवर्तन गरी कसरी जनजीवन सहज बनाउन सकिन्छ भन्ने विषयमा विज्ञहरुसँग छलफल भएको हो । छलफलमा विज्ञहरुले परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएका छन् ।
आत्तिनुपर्ने अवस्थामा नभएपनि सचेत हुनुपर्ने, विदेशबाट आउनेहरुको सवालमा सम्बन्धित स्थानीय तहहरुमा क्वारेन्टाइनको उचित व्यवस्थान गरी ल्याउनुपर्ने सुझाव पनि दिइएको छ। चिकित्सा क्षेत्रका विज्ञहरुले सरकारलाई वैज्ञानिक ढंगबाट निर्णय गर्न र सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग पनि सल्लाह गर्न सुझाव दिएका छन् । विज्ञहरुका सुझावहरुमा पुनः छलफल गरी समितिले निर्णय गर्नेछ ।