अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ ४ गते
एकैदिन भारतमा कोरोना भाइरसका करिब पाँच हजार संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, पछिल्लो २४ घण्टामा भारतमा चार हजार ९ सय ८७ नयाँ संक्रमित देखिएका हुन् । यो सँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० हजार ९ सय २७ पुगेको छ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २ हजार ८ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ सय २० जनाको मृत्यु भएको छ ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० हजार ७ सय ६ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार एक सय ३५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
त्यस्तै, गुजरातमा अहिलेसम्म १० हजार ९ सय ८८ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ६ सय २५ पुगेको छ । भारतको मध्यप्रदेशमा संक्रमितको संख्या ४ हजार ७ सय ८९ संक्रमित फेला परेका छन् । यो राज्यमा दुई सय ४३ जनाको मृत्यु भइसकेको छ ।
भारतको पश्चिम बंगालमा दुई हजार पाँच सय ७६ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या दुई सय ३२ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या चार हजार दुई सय ५८ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट एक सय चार जनाको मृत्यु भएको छ । बिहारमा एक हजार एक सय ७९ संक्रमित पुग्दा सात जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा ३४ हजार एक सय नौ जना संक्रमित निको भएर घर फर्किएका छन् ।