अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ ५ गते
आज थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा थप ९ जना नयाँ कोरोना संक्रमित फेला परेको जनाइएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ।
यसरी संक्रमित हुनेमध्ये ७ जना रौतहट इशनाथ नगरपालिकाका ७ पुरुष रहेका छन्। उनीहरू २१ देखि ३० वर्ष उमेरका रहेको मन्त्रालयले जनाएको छ। संक्रमित पुरुषहरू त्यहाँको वडा नम्बर २,३,६ र ९ का वासिन्दा हुन्। यस्तै अर्का संक्रमित पुरुष बारा, करैयामाई-५ का हुन्। उनको उमेर ३८ वर्ष रहेको छ। यसैगरी संक्रमित २८ वर्षीय महिला रौतहटको माधबनारायण नगरपालिका-३ की बासिन्दा हुन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणले उनीहरूमा कोरोनाको संक्रमण पुष्टि गरेको हो। स्वास्थ्य मन्त्रालयले हाल सबै संक्रमितको अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ।