गएराति बाँकेमा भएको दुर्घटनामा परि मृतक र घाइते सबैको कोरोना रिपोर्ट नेगेटिभ

अनलाईन न्युजपाटी नेपालगंज,समाचारदाता, जेठ १९ गते

भारतबाट फर्किएका नेपालीलाई सल्यानतर्फ लैजाने क्रममा बाँकेको अगैयामा गएराति भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै ३३ जनाको कोरोना रिपोर्ट नगेटिभ आएको छ ।

उनीहरू भारतका विभिन्न ठाउँहरूबाट आएकोले सोमबार बिहान भेरी अस्पतालमा सबैको स्वाब सङ्कलन गरेर कोरोना परीक्षण गरिएको थियो ।

पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा सबै ३३ जनाकै रिपोर्ट नगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार कोरोनाको आशङ्कामा अस्पतालको इमरजेन्सी वार्डलाई नै आइसोलेसनमा परिणत गरेर उनीहरूको स्वाब सङ्कलन गरिएको थियो । सबैको रिपोर्ट नगेटिभ आएपछि स्वास्थ्यकर्मी र दुर्घटनास्थलबाट घाइतेलाई लिएर आउने सुरक्षाकर्मीहरूले राहात महसुस गरेको उहाँले बताउनुभयो ।

घाइतेहरूलाई अस्पतालमा ल्याइएलगत्तै इमरजेन्सीलाई सिल गरेर उपचार भइरहेकोमा रिपोर्ट नगेटिभ आएपछि उपचारमा र मृतकहरूको शव आफन्तलाई बुझाउन सहज भएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो । नेपालगञ्जको जमुनाहा नाकाबाट सल्यानतर्फ हिँडेको उक्त यात्रुबाहक फोर्स गााडी बाँकेको अगैयानजिकै बिग्रेर उभिएको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेहरूमध्ये ११ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । नेपालगञ्जको जमुनाहबाट दाङ, सल्यान र रुकुमसमेतका नागरिक र चालक, सहचालक गरी उक्त गाडीमा ३३ जना सवार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बीस जना क्षमता रहेको गाडीमा ३३ जना सवार हुँदा ओभरलोडका कारण गाडी नियन्त्रण हुन नसक्दा दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पविन्द्र बमले बताउनुभएको छ ।

तर, घाइतेहरूले चालकले मदिरा सेवन गरेर लापरवाहीपूर्ण तरिकाले गाडी चलाएकोले दुर्घटना भएको आरोप लगाएका छन् ।

घाइते २१ जनाको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *