अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता असोज १८ गते
प्रदेश ५ को स्थायी राजधानीका लागि दाङको भालुवाङमा रहने गरी प्रदेश सभामा प्रस्ताव गरे लगत्तै विरोधमा बुटवल उपमहानगरपालिकाका विभिन्न स्थानमा प्रदर्शन हुन थालेपछि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
शनिबार साँझ जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले प्रेस विज्ञप्ती जारी गर्दै बुटवल उपमहानगरपालिकाका विभिन्न स्थानमा सरकारी सवारी साधन तोडफोड भएको छ।

सडकमा टायर बाल्ने र नारा जुलुस गर्नेलगायतका गतिविधि भएको भन्दै शान्ति सुरक्षाका लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार यही असोज १८ गते आइतबार बिहान ६ बजे देखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकिएको हो ।
उक्त निषेधाज्ञाको समयमा पाँच जना भन्दा बढी ब्यक्तिहरु समूहमा उपस्थित भई हिँडडुल गर्न पाइने छैन । त्यस्तै, सभा, जुलुस, प्रदर्शनलगायतका गतिविधिहरु गर्न वा गराउन नपाइने जिल्ला प्रशासनले जनाएको छ ।
उक्त क्रियाकलापहरु गरे वा गराएको पाइएमा प्रचलित कानून अनुसार कारबाही गरिने पनि जिल्ला प्रशासनले जनाएको छ ।