अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस ८ गते।
सरकारको कदमविरुद्ध जनता समाजवादी पार्टीले चरणबद्ध विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेको छ।
जसपाको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले संसद् विघटन गर्ने सरकारको कदमको विरोध गर्दै आन्दोलनमा जाने निर्णय गरेको हो।
संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सो बैठकले प्रतिनिधिसभा विघटनविरूद्ध विभिन्न आन्दोलनका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको बताए।
पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रिकृत जनप्रदर्शन गर्ने निर्णय गरेको हो।
साथै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै बैठक सुरू गर्न सभामुख अग्नी सापकोटालाई आग्रह गर्ने निर्णय गरेको छ।
‘प्रधानमन्त्री र राष्ट्रपतिले जुन संविधान उल्लंघन गर्नुभएको छ त्यसप्रति हाम्रो घोर आपत्ति छ, विरोध छ र हामी प्रतिनिधि सभा अहिले पनि जीवित छ भन्ने मान्यता राख्छौं। हाम्रो निर्णय यो भएको छ,’ उनले भने।