कसैको उम्मेदवारी नपरेकोले अग्निम सापकोटा सभामुखमा निर्विरोध, औपचारिक घोषणा माघ १२ गते

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,माघ ७ गते।

पम्फा भुसालको नाम चर्चामा रहे पनि सत्तारुढ नेकपाका नेता अग्‍नि सापकोटा सभामुखमा निर्विरोध भएका छन्। मंगलबार उम्मेदवारीका लागि  निर्धारित समयमा अन्य दलबाट मनोनयन दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित हुने पक्‍का भएको हो।

तर, यसको औपचारिक घोषणा भने माघ १२ गते हुनेछ। १२ गते बस्‍ने प्रतिनिधिसभाको बैठकमा अरु कसैको उम्मेदवारी नपरेकोले सापकोटा निर्विरोध चयन भएको घोषणा हुनेछ। त्यसपछि उनले सभाको अध्यक्षता गर्ने छन्। 

संसद् सचिवालयले मंगलबार ११ देखि २ बजेसम्म सभामुखको उम्मेदवारी दिने कार्यक्रम सार्वजनिक गरेको थियो। नेकपाबाट नेता अग्‍निप्रसाद  सापकोटाले संसद् भवन बानेश्वरमा पुगेर बिहान मनोनयन दर्ता गराएका थिए। यसअघि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने र समर्थन पनि कसैलाई नगर्ने निर्णय गरेको थियो।

आइतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचित सापकोटा प्रचण्ड निकट मानिन्छन्। सभामुखका लागि सुवास नेम्वाङ, डा. शिवमाय तुम्वाहाङ्फे, पम्फा भुसालको नाम चर्चामा रहे पनि प्रचण्डकै विशेष पहल र प्रस्तावमा उनी सभामुखको उम्मेदवार बनेका हुन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *