अनलाईन न्युजपाटी काठमाडौँ, समाचारदाता चैत्र १५ गते
कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा धेरैको रोगजारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थामा ग्राहकलाई राहत दिन समितिले यस्तो निर्णय गरेको हो । नेपाल बिधुत प्राधिकरणले घरायसी ग्राहकलाई १५० युनिट सम्मको बिधुत प्रयोगमा चैत महिनाभरको लागि महसुलमा २० प्रतिशत छुट दिने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल बिधुत प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषद् समक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो । यो निर्णयबाट नेपाल बिधुत प्राधिकरणका ३८ लाख उपभोक्ता लाभान्वित हुनेछन् । यसअघि इन्डक्सन प्रयोगकर्ता ग्राहकलाई छुट दिने भनिएकामा सबै गार्हस्थ्य ग्राहकलाई छुट दिने निर्णय प्राधिकरणले गरेको हो ।
साथै तथा एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित बिधुतिय चुलो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको मन्त्री पुनले बताउनुभयो ।
मन्त्री पुनले लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव देखिएकाले त्यसको विकल्पमा खाना पकाउन बिधुत प्रयोगलाई प्रोत्साहन गर्न र जनतालाई राहत दिनुपर्ने भएकाले बिधुत महसुलमा छुट गर्न लागिएको हो भन्नुभयो । उहाँले ग्यासबाट इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने अवसरका रूपमा महामारीलाई उपयोग गर्न खोजिएको हो । लकडाउनसँगै एकातिर बिधुतको माग घटेर गएको छ भने अर्कातिर ग्यासको अभाव देखिएको छ ।