अनलाईन न्युजपाटी काठमाडौँ, समाचारदाता चैत्र १५ गते
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसबाट बच्नका लागि नेपाल सरकारको ठोस निर्णयले लकडाउन भएको छ। लकडाउनका कारण नेपाल घुम्न आएका विभिन्न पर्यटकीय स्थलमा रोकिएका पर्यटकको शनिबार उद्दार हुँदैछ ।
पर्यटकलाई काठमाडौं ल्याउन नेपाल एयरलाइन्सको ट्वीनअर्टर विमानले सोलुखुम्बुको लुक्लामा शनिबार पाँच उडान गर्दैछ भने तारा एयरको तीन र समिट एयरको एक उडान हुनेछ । पर्यटक लिन दुई वटा ट्वीनअर्टर जहाज शनिबार विहानै लुक्ला पुगिसकेका छन् । युरोपेली देशले नेपालमा रोकिएका आफ्ना नागरिक उद्दारका लागि विमान पठाइरहेका छन् ।
नेपालमा रोकिएका पर्यटक लिन जर्मनी र फ्रान्सले शनिबार कतार एयरलाइन्सका दुई विमान नेपाल पठाउँदैछ । करिब ३५० जना जर्मन पर्यटक लिन कतारबाट विमान आउने तय भएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ । फ्रान्सेली पर्यटक लिन आइतबार कतार एयरलाइन्सकै विमान काठमाडौं आउने स्रोतको भनाइ छ ।शुक्रबार जर्मनीले त्रिभुवन विमानस्थलबाट आफ्ना नागरिक कतार एयरलाइन्समार्फत लगेको थियो ।