कोरोनमाथि विजय हुन नसके नेतृत्व नै असफल हुने पक्का

अनलाईन न्युजपाटी कर्णाली ,समाचारदाता, जेठ ३० गते

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कोरोनामाथि विजय हुन नसके नेतृत्व नै असफल भएर जाने बताए  ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश आईसिटी विभागद्वारा आयोजित ‘पाँच दिवसीय सूचना तथा प्रविधिसम्बन्धी तालिम’ सञ्चालनको क्रममा बोल्दै कानूनमन्त्री भण्डारीले कोरोनामाथि विजय हुन नसके नेतृत्व र मुलुकको औचित्य सकिएर जाने बताए । उहाँले कर्णाली प्रदेशमा कोरोनाको ‘इपिसेन्टर’ बन्दै गएको दैलेखतर्फ हाल प्रदेश सरकार केन्द्रित भएको जानकारी गराए ।

हामी दैलेखलाई पिसिआर मेसिनको व्यवस्था गर्ने पहलमा छौं,” उहाँले भन्नुभयो, “प्रदेश सरकार यहाँका नागरिकहरुको जीवन रक्षाका लागि अहोरात्र खटेर संघ र स्थानीय सरकारहरुसँग पनि निर्वाध समन्वय गरिरहेको छ ।” प्रदेशमा २७ वटा आइसोलेसन सेन्टर खडा गरेर अघि बढेको र प्रदेश सरकारले क्वारेन्टिनको प्रभावकारी व्यवस्थापनका लागि लागि गृहकार्य गरिरहेका उहाँको भनाई थियो ।

पूँजीवादी विकसित देशहरु पनि कोरोना भाइरसबाट हायलकायल भएको जिकिर गर्दै मन्त्री भण्डारीले सीमित साधन स्रोतमामा रहेर कर्णाली प्रदेश सरकारले बाध्यात्मक काम गर्नुपरेको उहाँले बताउनुभयो । कोरोना विरुद्धको कठिन लडाईको घडीमा हरेकलाई औचित्य पुष्टि गर्ने अवसर मिलेको बताउँदै उहाँले सम्पूर्ण शिक्षकहरुलाई आ–आफ्नो क्षेत्रबाट कोरोना प्रतिकार्यको अभियानमा जुट्न आग्रह गरे  ।

संक्रमित स्थानीय तह र गाउँमा प्रवेश गरिहाल्दा दुनियाँ भासियो र लीला नै समाप्त पार्छ भन्ने अतिवादी बुझाईलाई चिर्न र समाजमा सकरात्मक सन्देश प्रवाह गर्न पनि उहाँले शिक्षकहरुलाई अनुरोध गर्नुभयो । शिक्षकहरुको तत्काल विद्यालय खोल्ने वा के हुने ? भन्ने जिज्ञासामा उहाँले चाँडै विद्यालय सञ्चालन गर्न उपयुक्त नहुने धाराण राख्नुभएको थियो । उक्त अनलाईन तालिममा दैनिक ५५–८० शिक्षकहरु सहभागी हुने गरेको संगठन कर्णाली प्रदेश उपाध्याक्ष तथा आईसिटी विभागका संयोजक रामबहादुर रावलले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *