अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २१ गते
आइपिएलमा मुम्बई इन्डियन्स फेरि शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेपछि मुम्बईले फेरि शीर्ष स्थानमा कब्जा जमाएको हो।
मुम्बईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९३ रन बनाएको थियो । १९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १३६ रनमा अलआउट भयो ।
मुम्बईका लागि नटआउट ७९ रन बनाएर सूर्यकुमार यादवले जितको आधार तयार पारेका थिए । सूर्यकुमार म्यान अफ द म्याच भए । मुम्बईका लागि जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र जेम्स प्याटिन्सको बलिङ पनि उत्कृष्ट रहेपछि राजस्थान पराजित भयो ।
बुमराहले २० रन खर्चेर ४ विकेट लिए भने बोल्टले २६ रन खर्चेर २ विकेट लिए । यसैगरी जेम्स प्याटिन्सनले पनि २ विकेट लिँदा १९ रन दिए ।
युएईमा जारी आईपीएलको १३ औं संस्करणमा मुम्बईको यो चौथो जित र राजस्थानको तेस्रो हार हो ।