अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २९ गते
यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत बुधबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले जीत हात पारेको छ । प्रतियोगितामा छैटौं जीत हात पार्ने क्रममा उसले राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्यो ।
दिल्लीले निर्धारित २० ओभरमा राजस्थानसामु १६२ रनको लक्ष्य पेश गरेको थियो । जवाफी ब्याटिङमा राजस्थानले ८ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो ।
राजस्थानका बेन स्टोक्सले सर्वाधिक ४१ रन बनाए भने रोबिन उथप्पाले ३२ रन बनाए । दिल्लीका एनरिच नोर्त्जे र तुषार देशपाण्डेले २-२ विकेट लिए भने कगिसो रबाडा, रविचन्द्रन आश्विन र अक्षर पटेलले १-१ विकेट लिए ।
यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो । ओपनर शिखर धवनले ५७ र कप्तान श्रेयस अय्यरले ५३ रको पारी खेले । राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए भने जयदेव उनादकटले २ तथा कार्तिक त्यागी र श्रेयस गोपालले १-१ विकेट लिए ।
जीतसँगै दिल्लीको ८ खेलबाट १२ अंक भएको छ र शीर्षस्थानमा उक्लिएको छ भने पराजित राजस्थानको ८ खेलबाट ६ अंक छ र सातौं स्थानमा रहेको छ ।