अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक २ गते
इण्डियन प्रिमियर लिग (आईपीएल) IPL 2020 अन्तर्गत दिल्ली क्यापिटल्स अर्को खेलमा विजयी भएको छ। दिल्लीले शनिबार भएको खेलमा चेन्नई सुपरकिंग्सलाई ५ विकेटले पराजित गरेको हो।
चेन्नईले दिएको १८० रनको लक्ष्य दिल्लीले १ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पूरा गर्यो।
दिल्लीको जितमा ओपनिङ ब्याट्सम्यान शिखर धवनले शतक प्रहार गरे। धवनले नटआउट १०१ रन जोडे। उनले ५८ बलमा १४ चौका र १ छक्का हानेका थिए।।
अक्षर पटेलले नटआउट २१ रन ,पृथ्वी शा दोस्रो बलमै शून्य, अजिन्का राहाणे ८ रन, कप्तान श्रेयस इयरले २४ रनको योगदान दिए। बलिङमा चेन्नईका दीपक चाहरले २ विकेट लिए।
शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन जोडेको थियो। चेन्नईका लागि फाप डु प्लेसिसले ५८ रनको योगदान दिए।
यस्तै अम्बाती रायदु ४५ रनमा नटआउट ,सेन वाट्सनले ३६ रन र रविन्द्र जडेजाले नटआउट ३३ रन जोडे। बलिङमा दिल्लीका एनरिच नोर्कियाले २ विकेट लिए। तुसार देशपाण्डे र कागिसो रबाडाको नाममा १-१ विकेट रह्यो।
जितसँगै दिल्ली ९ खेलबाट १४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। चेन्नई ९ खेलबाट ६ अंकसहित छैटौं स्थानमा छ।