अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक २८ गते
अमेरिकाको न्युयोर्कमा कोरोना संक्रमण लगातार बढेपछि रात्रिकालीन कर्फ्यु आदेश जारी गरिएको छ।
शुक्रबारदेखि न्युयोर्कमा राति १० बजेपछि रेष्टुरेण्ट, बार र जिम लगायतका स्थानमा कर्फ्यु लगाइएको हो। आदेशअनुसार राति १० बजे अगाडि नै रेष्टुरेण्ट, बार र जिमहरु बन्द गरिसक्नुपर्ने छ।
शुक्रबारदेखि न्युयोर्कमा हाउस पार्टी लगायतका लागि १० जनाभन्दा बढी भेला समेत हुन पाइनेछैन। गभर्नर एन्ड्रयु कुमोले १० जनाभन्दा बढी भेला हुन नपाउने र १० बजेपछि बार र रेष्टुरेण्टहरु खोल्न नपाउने नियम स्थानीय सरकारले कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
जमघट हुन नपाउने नियम निजी घरहरुभित्र समेत लागू हुनेछ। मदिरा बिक्रीको लाइसेन्स पाएका बार र रेष्टुरेण्टहरु १० बजेपछि खोल्न नपाइने भए पनि रेष्टुरेण्टहरुले १० बजेपछि पनि टेकआउट सुविधा भने दिन सक्नेछन् । तर टेकआउट केबल खानाका लागिमात्र हुनुपर्नेछ।