दक्षिण कोरियाले सामाजिक जमघटमा लगाइएको प्रतिबन्ध फुक्का गर्दै

अनलाईन न्युजपाटी एजेन्सी ,समाचारदाता, बैशाख ०७  गते।

दक्षिण कोरियामा सङ्क्रमणको दर उल्लेखनीय रूपमा घटेपछि सरकारले भेला र जमघटमा लगाइएका प्रतिबन्धहरू फुक्का गर्ने घोषणा गरेको छ। कुनै बेला चीनपछि एशियामा सर्वाधिक सङ्क्रमण फैलिएको दक्षिण कोरियाले लकडाउन नलगाईकनै कोभिड-१९ महामारी उल्लेखनीय रूपमा नियन्त्रणमा लिईएको छ।

१०,७०० सङ्क्रमितको सङ्ख्या पुगेको छ भने २३४ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन्। फेब्रुअरी महिनामा एशियामा चीनपछि धेरै सङ्क्रमित हुनेको सङ्ख्या दक्षिण कोरियामा थियो। कोरोनाभाइरस प्रकोप नियन्त्रणमा ल्याउन दक्षिण कोरियाले सम्भावित सङ्क्रमित व्यक्तिको परीक्षण र पहिचान गर्न उपायहरू व्यापक रूपमा अवलम्बन गरेको थियो। राष्ट्रपति मुन जे-इनले आफ्नो देशले कोरोनाभाइरस नियन्त्रणका लागि गरेको प्रगतिले कोभिड-१९ लाई परास्त गर्न सकिने आशा विश्वका अन्य भागमा पनि दिने बताए।

अब चर्च, होटेल,जिम खुल्नेछन्। तर व्यक्तिगत दूरीसम्बन्धी नियम पालना गर्नुपर्नेछ। यसअघि कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि उदाहरणीय काम गरेको भन्दै प्रशंसा पाएको दक्षिण कोरियाले एप्रिल ४ तारिखमा दुई साताका लागि सामाजिक दूरी कायम गर्ने समयसीमा थपेको थियो। उक्त समयसीमा आइतवार सकिँदैछ।

व्यक्तिगत दूरी कायम गर्नका लागि दक्षिण कोरियालीहरूलाई सार्वजनिक स्थलमा एकअर्काभन्दा दुई मिटर पर उभिन सुझाव दिइएको छ। उनीहरूलाई चर्च, र अन्य भेलामा नजान सल्लाह दिइएको छ। एक महिनाका लागि बन्द गरिएका शैक्क्षिक संस्थाहरूले अनलाइनमार्फत् पढाउन थालिसकेका छन्। दक्षिण कोरियामा बुधवार संसदीय निर्वाचनका लागि मतदान भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *