एशियाकै सर्वाधिक कोरोना संक्रमित भारत, एकै दिन ५,६०० जनामा कोभिड-१९ पुष्टि

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ ७  गते

भारतमा एकै दिन ५,६०० जनाभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताइएको छ। यो अहिलेसम्म दैनिक पुष्टि भएको सर्वाधिक सङ्ख्या हो। यो सहित भारतमा सङ्क्रमितको कुल सङ्ख्या १,०६, ७५० नाघेको छ। भारतमा एशियामै सर्वाधिक सङ्ख्यामा कोभिड-१९ पुष्टि भएको छ।

भारतको स्वास्थ्य मन्त्रालयका विगत २४ घण्टामा ५,६११ जनामा कोरोनाभाइरस पुष्टि भएको जनाएको छ। अब कुल सङ्क्रमितको सङ्ख्या १,०६,७५० पुगेको छ। अहिले भारतमा ६१,००० भन्दा बढीमा व्यक्तिमा सक्रिय सङ्क्रमण छ।

उक्त अवधिमा १४० जनाको कोभिड-१९ कारण मृत्यु भएपछि मृतकको कुल सङ्ख्या ३,३०३ पुगेको छ। अहिलेसम्म झन्डै ४२,००० जना निको भएको बताइएको छ। भारतमा विगत आठ हप्तादेखि लकडाउन लगाइएको छ।

सरकारले हिँडडुल र व्यापार तथा व्यवसायमा लगाइएको प्रतिबन्ध बिस्तारै खुकुलो पार्न थालेको बेलामा सङ्क्रमणको दर बढेको देखिएको छ।भारतमा अझै कोभिड-१९ महामारी उत्कर्षमा पुग्न बाँकी भएको विज्ञहरू बताउँछन्।

अहिले महाराष्ट्रमा सर्वाधिक अर्थात् देशभरि पुष्टि भएकामध्ये ४० प्रतिशत सङ्क्रमित फेला परेका छन् भने मृत्यु भएकामध्ये गुजरात राज्यमा ७० प्रतिशत छन्। महाराष्ट्रपछि तमिलनाडु, गुजरात र दिल्लीमा क्रमश: सर्वाधिक सङ्क्रमित फेला परेका छन्। भारतमा लकडाउनको अवधि बढाएर मे ३१ सम्म कायम गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *