अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ १५ गते
अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुने मानिसहरूको सङ्ख्या एक लाख नाघेको जोन्स हप्किन्स युनिभर्सिटीको विवरणले जनाएको छ। कोभिड-१९ बाट ज्यान गुमाउने अमेरिकीको सङ्ख्या कोरियाली युद्ध, भियतनाम युद्ध र इराकको द्वन्दमा ज्यान गुमाएका कुल अमेरिकीभन्दा धेरै छ।
अमेरिकामा २१ जनवरीमा पहिलोपटक वासिङ्टन राज्यमा देखिएको यस भाइरसको विश्वभरि रहेका सङ्क्रमितमध्ये झण्डै ३० प्रतिशत अमेरिकामा पुष्टि भएका छन्। विश्वभर ५६ लाखभन्दा बढी सङ्क्रमण पुष्टि हुँदा अहिलेसम्म अमेरिकामा झण्डै १७ लाख पाइएका छन्। अमेरिकामा नयाँ सङ्क्रमणका घटना देखिने दर कम भइरहँदा र राज्यहरूले लकडाउनका उपायहरू खुकुलो बनाइरहँदा पछिल्लो सङ्ख्या सार्वजनिक भएको हो।

अमेरिकामा कोरोनाभाइरसको पहिलो सङ्क्रमण पाइएको दुई दिनपछि राष्ट्रपति डोनल्ड ट्रम्पले अवस्थालाई उनकै शब्दमा ‘पूर्ण रूपमा नियन्त्रणमा रहेको’ भन्दै नागरिकहरूलाई सबै ठिक हुने भनेर बिश्वास दिलाएका थिए।
पछिल्लो चार महिनाभित्रै हेर्ने हो भने अमेरिकामा सबै ५० राज्यमा भाइरस फैलियो र मृत्युको सङ्ख्यामा विश्वमै पहिलो नम्बरमा आएको थियो। ट्रम्पले सुरुमा महामारीबाट ५० देखि ६० हजार बीचमा मानिसहरूको मृत्यु हुनसक्ने बताएका थिए।
मे महिनामा सम्म पुग्दा भने उनले त्यस्तो सङ्ख्या १ लाखभन्दा कम नै हुने आशा आफूले गरेको बताएका थिए। तर मृत्यु सङ्ख्या एक लाख नाघिसक्दा अझै अमेरिकामा दैनिक रूपमा औसत एक हजार मानिसहरूले ज्यान गुमाइरहेका छन्।