अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १५ गते
जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । नेपालमा गणतन्त्र घोषणा भएको १२ वर्ष पूरा भई तेह्रौँ वर्ष लागेको छ ।

दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । सरकारले विगतमा गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिदै आए पनि गत वर्षदेखि गणतन्त्र दिवसका बिदा कटौती गरेको छ ।
देशमा गणतन्त्र आएको एक दशक बितिसक्दा पनि जनअपेक्षा अनुरुपको प्रगति हुन नसकेको भन्दै जनतामा निराशा छाएको छ । गणतन्त्र दिवसका उपलक्ष्यमा गृहमन्त्रालयले दिपावली गरी दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ । मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार १४,१५ र १६ साँझ पनि घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।