अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक १६ गते।
जनकपुरधाम बजार क्षेत्रमा धनतेरसको अवसरमा किनमेल गर्नेहरुको भिड लागेको छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज जनकपुरधाम सहित मिथिला क्षेत्रमा ‘धनतेरस’ मनाइँदै छ ।
पर्वको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाउन लागिएको हो । पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड लागेको छ ।
राममन्दिर, जानकी मन्दिरको छेउमा विभिन्न कलात्मक भाँडाकुडा, भगवानको मुर्ती लगायतका सामानहरुको किनमेल भइरहेको छ भने सुनचाँदी खरिद गर्न भिड लागेको हो ।
घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ ।