अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,पुस १८ गते।
सुनका गरगहना लुटेर बृद्धाको हत्यामा संलग्न भएको आरोपमा कञ्चनपुरमा पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको छ।
जिल्लाको पुर्नवास नगरपालिका–१ ढक्काकी ७१ वर्षीया खण्टी भुलको हत्या गरि गरगहना लुटेको आरोपमा उनका छिमेकी समेत रहेका अन्दाजी ४८ वर्षीय दलबहादुर बिकलाई सार्वजनिक गरिएको हो।
जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै लुटिएका गरगहना, हत्या गर्न प्रयोग भएको हतियार सहित बिकलाई पक्राउ गरिएको जनाएको छ। उनको साथबाट केही राउण्ड गोली समेत बरामद गरिएको छ ।
गत आइतबार दिउँसो खण्डी भुलको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा घरभित्रै शव फेला परेको थियो।
मृतक वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन्। उनका छोरा मजदुरीका लागि भारतको मुम्बईमा रहेको, बुहारी र नातिनी धनगढीमा बस्ने गरेको बताइएको छ ।