संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले आज देशैभर प्रदर्शन गर्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन ३ गते।

संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध कांग्रेसले आज (सोमबार) देशैभर प्रदर्शन गर्दैछ ।

नेपाली कांग्रेसले गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको जनाएको छ ।

आजको विरोध प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी बनाउन काँग्रेस सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन्। आइतवार एक अपिल जारी गर्दै सभापति देउवाले भनेका छन्, ‘केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध नेपाली काँग्रेसले फागुन ३ गते देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन म सबैमा हार्दिक अपिल गर्दछु।’

जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्दै छ भने पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *