अनलाईन न्युजपाटी बिरगंज,समाचारदाता,फागुन १३ गते।
स्रोत नखुलेको २५ लाख ३५ हजार नेपाली रुपैयाँसहित प्रहरीले कलैयाबाट दुई जना भारतिय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया-७ टोल नरकटिया बस्ने ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमार छन् ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले कलैया उपमहानगरपालिका–८ बरेवा टोलबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपीले जानकारी दिए।
बीआर०५के ०७९८ नम्बरको मोटरसाइकलको डिक्किमा लुकाएर ल्याउँदै गरेको अवस्थामा रकम फेला परेको उनले बताए । उनीहरुको साथबाट प्रहरीले एक हजार दरका १,७७२ थान अर्थात १७ लाख ७२ हजार र ५०० रुपैयाँ दरका १,५२६ थान अर्थात ७ लाख ६३ हजार रुपैयाँ गरी २५ लाख ३५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
रकमका बारेमा सोधपुछ गर्दा स्रोत नखुलाएकोले मोटरसाइकल र दुवैजना मानिसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।