अनलाईन न्युजपाटी चितवन,समाचारदाता,फागुन १३ गते।
दुर्लभ एक सिंगे गैंडा मारी खाग विक्री गरेको अभियोगमा थप तीन जना चितवनमा पक्राउ परेका छन् ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले फरार रहेका थप तीन जना प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा काठमाडैंको धापासीबाट सल्यान शारदा नगरपालिका–५ बस्ने ३१ वर्षीय पुरन रेउले र सितापाईलाबाट काभ्रे मन्डन देउपुर नगरपालिका–१० ज्यामिरे बस्ने ४८ वर्षीय आइत तामाङ र रसुवा साविक सरमथली गाविस–६ हाल नौकुण्ड गाँउपालिका–३ वस्ने ३६ वर्षीय ज्ञानबहादुर रुम्वा रहेका छन् । ब्युरोले उनीहरुले गैंडाको खाग ओसारपसार एवं खरिद बिक्री गर्न प्रयोग गरेको ना २ च १४५८ नम्बरको गाडी समेत बरामद गरेको छ ।
पक्राउ परेका र उनीहरुबाट बरामद सामानलाई आवश्यक कानुनी कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरामा राखिएको छ ।